होशियार !

केही बाख्रा फार्महरूले उनीहरूका बोयर बोकाहरूलाई धेरै मात्रामा दान खुवाउने गर्छन्। यसरी दानाको मात्रा धेरै खुवाउँदा बोकाहरूको तौल बढ्छ र हेर्दा पनि ठूला देखिन्छन्, तर उनीहरूको घुँडामा र पूरै खुट्टामा समस्याहरू हुन आउँछ। कति फार्महरूले त बोकाहरूलाई ठूलो बनाउन औषधीहरू पनि खुवाउँछन्। त्यस्ता औषधीहरूले बोकाहरूको स्वास्थ्यमा हानि पुर्‍याउँछन्। बाख्राको स्वास्थ्यमा हानि पुर्‍याए तापनि फार्मका मालिकहरूले औषधीद्वारा नै बोकाहरूलाई ठूलो बनाएर देखाउने र बिक्रीवितरण गर्ने गर्दछन्। तर यथार्थ कुरा के हो भने यस्ता किसिमका ठूला बोकाहरूबाट जन्मने पाठाहरू अपेक्षा गरे अनुसारका ठूला बोकाहरू बन्दैनन्, किनकि ती बोकाहरूलाई अवैधानिक औषधीहरू खुवाइएको हुन्छ। अन्तत: महङ्गो दाममा किनेर ल्याइएका बोयर बाख्राहरूबाट किसानहरूले उचित मुनाफा कमाउन सक्दैनन् र उनीहरू ठगिन पुग्छन्।

बोयर जातिका बोका र बाख्राहरूमा होशियारीसाथ ध्यान दिइनुपर्ने कुरा भनेको यसको शुद्धता नै हो। अधिकांश फार्महरूमा बोयर बाख्राहरूलाई पनि अन्य बाख्राहरूसँगै मिसाएर पालेको पाइन्छ। यस्ता फार्महरूमा जन्मेका पाठा-पाठीहरू बोयर जस्तै देखिन्छन्, तर तिनीहरू शुद्ध बोयर भने हुँदैनन्। प्राय सबैतिर यस्तै बाख्रा वा बोकाहरूलाई बोयर भनेर बेचिन्छ तर वास्तवमा तिनीहरू शुद्ध बोयरहरू हुँदैनन्, फलस्वरूप तीबाट जन्मने पाठा-पाठीहरू शुद्ध बोयर बाख्रा वा बोका जत्तिकै स्वस्थ र पोटिला हुँदैनन्।